नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको घुइँचो, होटलसमेत भरिभराउ


ताप्लेजुङ । नवरात्र सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको पहिलो दिन आज बिहानैदेखि पाथीभरा माताको दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको घुइँचो लागेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर परिसरमा भक्तजनको बाक्लो उपस्थिति छ । नवरात्र सुरु भएसँगै पाथीभरा क्षेत्र र फेदीका होटलहरूमा समेत तीर्थयात्रीको चहलपहल बढेको उनले बताए ।

पाथीभरा माताको दर्शनसँगै कञ्चनजङ्घा, मकालु र फक्ताङलुङलगायत हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न पनि पर्यटक तथा तीर्थयात्री पुग्ने गरेका छन् । भक्तजन र पर्यटकको आगमन बढेपछि पाथीभरा क्षेत्र तथा फेदीका प्रायः सबै होटल भरिएको स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिए ।

नवरात्रका बेला पाथीभरामा भक्तजनको चाप बढ्ने भएकाले तीर्थयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक प्रबन्ध मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्ला प्रशासन कार्यालयले पाथीभरा क्षेत्र विकास समितिसहित सम्बन्धित निकायसँग समन्वय गरी तीर्थयात्रीको आवागमन व्यवस्थापन तथा सुरक्षाका लागि आवश्यक तयारी गरेको छ ।

नवरात्रका अवसरमा पाथीभरा माताको दर्शन गर्न देशका विभिन्न स्थानबाट भक्तजन ताप्लेजुङ पुग्ने गरेका छन् । धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित पाथीभरामा भक्तजनको आगमन बढेसँगै स्थानीय होटल तथा पर्यटन व्यवसायमा समेत चहलपहल बढेको छ ।