महामन्त्रीमा पराजित भएपछि डा. सुनिल शर्माले भने पदमा नरहे पनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु ।



काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार रहेका डा. सुनिल कुमार शर्माले निर्वाचनको परिणामले पार्टी रूपान्तरणप्रतिको आफ्नो संकल्प कमजोर नबनाएको बताएका छन्।

महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै डा. शर्माले पद प्राप्ति मात्र आफ्नो उम्मेदवारीको उद्देश्य नभएको स्पष्ट पारेका छन्। नेपाली कांग्रेसलाई अझ जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्पका साथ आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

महान् नेता बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता आफूमा यथावत् रहेको उनले बताएका छन्।

निर्वाचनमा आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गर्दै शर्माले आफ्नो अभियानमा अहोरात्र खटिएका अग्रज, साथी, सहयात्री तथा शुभेच्छुकलाई पनि धन्यवाद दिएका छन्।

‘निर्वाचनको परिणामले मेरो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्पलाई कमजोर बनाएको छैन। बरु, यसले अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणा दिएको छ,’ शर्माले आफ्नो वक्तव्यमा भनेका छन्।

पदमा रहेर वा नरहेर पनि पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित रहने उल्लेख गर्दै उनले महामन्त्री पदको चुनावी प्रतिस्पर्धाका क्रममा महाधिवेशन प्रतिनिधिले व्यक्त गरेको सद्भाव र मतमार्फत दिएको समर्थनले आफूलाई अझ सशक्त रूपमा काम गर्ने प्रेरणा मिलेको बताएका छन्।

कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कारको स्थापना गर्न आफ्नो प्रयास तथा सक्रियता निरन्तर जारी रहने उनको भनाइ छ।

शर्माले चुनावी प्रतिस्पर्धामा सहभागी सबै नेतागण, निर्वाचित पदाधिकारी, विभिन्न तहका नेता तथा पार्टीका कार्यकर्तासँग आगामी दिनमा पनि सहकार्य गरेर पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘जनताको सेवा र देशको समुन्नतिका लागि निरन्तर अघि बढिरहनेछु,’ उनले वक्तव्यको अन्त्यमा भनेका छन्।