भारतमा प्रदर्शनका लागि तीन स्थान तोकिए, पुराना स्थलमा प्रतिबन्ध


नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शनस्थल ‘जन्तर मन्तर’को मान्यता खारेज गर्दै प्रहरीले प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थल तोकेको छ।

भारतीय प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ।

मतदाता नामावली तथा निर्वाचन व्यवस्थापनमा कथित अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागसहित प्रदर्शन भइरहेका बेला प्रहरीले यस्तो निर्णय गरेको हो।

ऐतिहासिक खगोलीय वेधशालासमेत रहेको जन्तर मन्तर लामो समयदेखि भारतमा राजनीतिक तथा सामाजिक मुद्दामा विरोध प्रदर्शन गर्ने प्रमुख स्थलका रूपमा परिचित थियो। संसद् भवन र प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको यो स्थानमा विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा नागरिक समूहले प्रदर्शन गर्दै आएका थिए।

जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयसँगै राजधानीमा विरोध कार्यक्रम सञ्चालन गर्ने स्थानको व्यवस्थापनमा परिवर्तन आउनेछ। अब प्रदर्शनकारीले प्रहरीले तोकेका वैकल्पिक स्थल प्रयोग गर्नुपर्नेछ।

यस निर्णयले दिल्लीमा विरोध प्रदर्शनका लागि उपलब्ध स्थान र प्रदर्शन व्यवस्थापनसम्बन्धी व्यवस्थामा नयाँ परिस्थिति सिर्जना गरेको छ।