बुढीगण्डकी बाढीले रोकिएको विद्युत् सेवा पुनः सञ्चालन, धार्चेमा कहिले बल्छ बत्ती?


काठमाडौं । गोरखाको बुढीगण्डकी र सहायक नदी स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारेको छ। बाढीबाट क्षतिग्रस्त विद्युत् प्रणालीमध्ये धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार बाढीले क्षति पुर्‍याएका विद्युत् संरचनाको मर्मत गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको छ। खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक पहुँच नहुँदा र विद्युत् लाइनमा पूर्ण क्षति पुगेकाले पुनःस्थापनामा कठिनाइ भएको छ। मन्त्रालयले खोर्लाबेंसीसम्म जतिसक्दो छिटो विद्युत् आपूर्ति सञ्चालन गर्ने गरी काम गरिरहेको जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको आरुघाट वितरण केन्द्रका अनुसार धार्चे गाउँपालिकामा पनि आज बिहानदेखि पुनःस्थापनाको काम सुरु गरिएको छ। यसअघि आरुघाट क्षेत्रका विभिन्न स्थानमा विद्युत् सेवा सञ्चालनमा ल्याइसकिएको छ।

मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएलगत्तै प्राधिकरणले मर्मतको काम थालेको थियो। त्यसक्रममा करिब १० घण्टामै गोरखाको भीमसेन थापा गाउँपालिका–२, ३ र ४ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको थियो।

त्यसैगरी आरुघाट बजारसहित आरुघाट गाउँपालिकाका डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा पनि विद्युत् आपूर्ति सुचारु भइसकेको छ। बाढीबाट प्रभावित बाँकी क्षेत्रमा समेत यसै हप्ताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्रालयले जनाएको छ।

विद्युत् वितरण प्रणाली र जलविद्युत् आयोजनामा ठूलो क्षति

बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणालीसँगै जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ। बाढीबाट बुढीगण्डकी जलविद्युत् आयोजना तथा टाइम्स इनर्जी प्रालिको ३४१ मेगावाट, दोभान खोला जलविद्युत् आयोजनाको २४.५ मेगावाट, यारु खोला आयोजनाको ३०.५९ मेगावाट र माछा खोला आयोजनाको १६ मेगावाट क्षमताका आयोजनासँग सम्बन्धित संरचनाहरू प्रभावित भएका छन्।

यी आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। पूर्वाधारमा पुगेको क्षतिले विद्युत् सेवा पुनःस्थापना र आयोजनासम्बन्धी काममा थप चुनौती सिर्जना गरेको छ।

७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति

गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका विद्युत् पोलमा क्षति पुगेको छ। त्यसैगरी सोती, आर्खेत र आरुघाट बजार क्षेत्रमा विद्युत् वितरण लाइनका पोलहरूमा पनि क्षति पुगेको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

विद्युत् लाइनका पोल, पहुँच सडक र पुलमा भएको क्षतिका कारण केही क्षेत्रमा मर्मत टोली परिचालन गर्न तथा आवश्यक सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ। विशेषगरी धार्चे क्षेत्रमा सडक पहुँचको अभाव र विद्युत् लाइनमा भएको व्यापक क्षतिले सेवा सञ्चालनमा समय लाग्ने देखिएको छ।

मन्त्रालयले बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ। यसै हप्ताभित्र सेवा पुनःस्थापना गर्ने लक्ष्य पूरा गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक कामलाई तीव्रता दिएको छ।