काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन घर फर्किन थालेपछि उपत्यकाका विभिन्न नाकामा यात्रुको चहलपहल बढेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन् । परिवार र आफन्तसँग दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या पनि बढ्दै गएको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सबैभन्दा धेरै यात्रु नागढुङ्गा र भक्तपुर नाकाबाट बाहिरिएका छन् । नागढुङ्गा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ जना यात्रु बाहिरिएका हुन् ।
त्यस्तै, फर्पिङ नाकाबाट पाँच हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना बाहिरिएका छन् ।
सडकको अवस्थाले यात्रु व्यवस्थापनमा चुनौती
दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढिरहेका बेला सडकको दयनीय अवस्थाले यातायात व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ । विभिन्न राष्ट्रिय राजमार्गमा भएको क्षति र सडक अवरोधका कारण सार्वजनिक यातायातका साधन निर्धारित समयमा गन्तव्यमा पुग्न तथा काठमाडौँ फर्किन समस्या भइरहेको यातायात व्यवसायीहरूले बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन व्यवस्थापनमा कठिनाइ भइरहेको बताए ।
उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात आवागमन अवरुद्ध भएको थियो । त्यसका कारण धेरै सवारीसाधन काठमाडौँमै रोकिँदा यात्रु ओसारपसार र सवारीसाधनको व्यवस्थापनमा थप समस्या भएको उनले बताए ।
दसैँका बेला यात्रुको चाप बढ्ने र सडकमा अवरोधसमेत भइरहने अवस्थाले यात्रुलाई गन्तव्यसम्म पुग्न थप समय लाग्न सक्ने देखिएको छ ।
टिकट काटेर मात्र यात्रा गर्न आग्रह
यात्रुको चाप बढ्दै गएपछि यातायात व्यवसायीहरूले सुरक्षित र व्यवस्थित यात्राका लागि विभिन्न आग्रह गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादरअनुसार रकम तिर्न तथा यात्रामा निस्कनुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैँ परिवार, आफन्त र समुदायसँग भेटघाट तथा खुसी साटासाट गरेर मनाइने नेपालीहरूको प्रमुख चाड हो । यही कारण रोजगारी र अध्ययनका लागि राजधानीमा बसोबास गर्ने हजारौँ मानिस हरेक वर्ष दसैँमा आफ्नो जन्मथलो फर्किने गर्छन् ।
यस वर्ष पनि दसैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । आगामी दिनमा यात्रुको चाप थप बढ्ने सम्भावना रहेकाले सडकको अवस्था सुधार, यातायात व्यवस्थापन र सुरक्षित यात्रालाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।

















प्रतिक्रिया