कक्रोच पार्टीका दुई सहसंयोजकसहित समर्थकलाई दिल्ली प्रहरीले नियन्त्रणमा लियो


नयाँदिल्ली । भारतको कक्रोच जनता पार्टी (सीजेपी)का दुई सहसंयोजक सौरभ दास र आशुतोष रांका दिल्ली प्रहरीको नियन्त्रणमा परेका छन् । जन्तरमन्तरतर्फ अघि बढ्ने प्रयासका क्रममा प्रहरीले उनीहरूलाई पुनः नियन्त्रणमा लिएको हो ।

उनीहरूसँगै पार्टीसँग आबद्ध अजिंक्य शिन्दे र अन्य केही समर्थकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय राष्ट्रिय झण्डा बोकेर जन्तरमन्तर पुग्ने प्रयास गरिरहेका पार्टीका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको सीजेपीका संस्थापक अभिजित दीपकेले बताएका छन् ।

दीपकेले यस घटनासम्बन्धी भिडियो सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् । भिडियोमा पार्टीका केही समर्थक भारतीय राष्ट्रिय झण्डा बोकेर जन्तरमन्तरतर्फ अघि बढिरहेको देखिन्छ ।

भिडियोसँगै सन्देश लेख्दै दीपकेले आशुतोष रांका, सौरभ दास, अजिंक्य शिन्दे र टोलीका अन्य सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै विरोध प्रदर्शनलाई दबाउन नसकिने बताएका छन् । ‘नरेन्द्र मोदी, तपाईं विरोध प्रदर्शनलाई समाप्त गर्न सक्नुहुन्न,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

जन्तरमन्तर दिल्लीमा राजनीतिक तथा सामाजिक मुद्दामा विरोध प्रदर्शन हुने प्रमुख स्थानमध्ये एक हो । त्यहाँ प्रदर्शन गर्ने विषयलाई लिएर पछिल्लो घटनाक्रममा सीजेपीका नेताहरू प्रहरी नियन्त्रणमा परेका हुन् ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुको विस्तृत कारण र उनीहरूको रिहाइबारे भने उपलब्ध विवरणमा खुलाइएको छैन ।