कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा जीवनबहादुर शाही विजयी


काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा जीवनबहादुर शाही निर्वाचित भएका छन् । चार प्रतिस्पर्धीलाई पछि पार्दै शाही सहमहामन्त्री बन्न सफल भएका हुन् ।

निर्वाचन पोर्टलमा उल्लेखित मतपरिणामअनुसार शाहीले ३ हजार ९०६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७० मत प्राप्त गरेका छन् । शाहीले गिरीलाई २ हजार ५३६ मतको फराकिलो अन्तरले पछि पारेका हुन् ।

यस पदका अन्य प्रतिस्पर्धीमा नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट रहेका थिए । यद्यपि, निर्वाचन समितिले परिणामको औपचारिक घोषणा गरिसकेको छैन ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले मतगणना सकिएको र प्राप्त मत यकिन गर्ने काम भइरहेको जानकारी दिएका छन् ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहीका लागि यो सफलता दोस्रो प्रयासमा प्राप्त भएको हो । २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनी सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) पदमै उम्मेदवार बनेका थिए । तर, त्यसबेला बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए ।

यसपटक भने शाहीले फराकिलो मतान्तरसहित अग्रता कायम गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्वमा पुगेका शाहीको जितलाई उनको राजनीतिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

निर्वाचन समितिबाट आधिकारिक मतपरिणाम घोषणा भएपछि उनको जित औपचारिक रूपमा पुष्टि हुनेछ ।