काठमाडौं । विवादास्पद अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग पार्टीको केन्द्रीय अनुशासन आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलाप्रति आपत्तिजनक लाञ्छना लगाइएको र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुनार विवादमा तानिएका हुन् । उक्त अडियोको विषयलाई लिएर उनीमाथि छानबिन र कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।
विवाद सार्वजनिक भएपछि पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिएका थिए ।
त्यसपछि आयोगले सुनारलाई पत्र पठाउँदै सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको आयोगका एक सदस्यले बताएका छन् ।
‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौँ । उहाँको स्पष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ आयोगका एक सदस्यले रातोपाटीसँग भने ।
पार्टीले छानबिन प्रक्रिया अघि बढाउनुका साथै सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ । रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका सुनारमाथि अडियो प्रकरणपछि कारबाही गर्नुपर्ने दबाब बढ्दै गएको छ ।
अब सुनारले आयोगसमक्ष दिने स्पष्टीकरण र त्यसपछि हुने आन्तरिक छानबिनका आधारमा पार्टीले थप निर्णय लिने देखिएको छ । यद्यपि, सार्वजनिक भएको अडियोको सत्यता र घटनासम्बन्धी निष्कर्ष भने छानबिनबाट पुष्टि हुन बाँकी छ ।

















प्रतिक्रिया