विराटनगर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार, स्रोत र साधनको तल्लो तहसम्म विकेन्द्रीकरण हुनुपर्ने बताएका छन् । उनले संघीयताको अर्थ सिंहदरबारको अधिकार प्रदेशको राजधानीमा सार्नु मात्रै नभएको स्पष्ट पारेका छन् ।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापामगरले जलवायु परिवर्तनका कारण बढ्दै गएका विपद् व्यवस्थापनका लागि सबै प्रदेशबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । उनका अनुसार जलवायु परिवर्तनबाट उत्पन्न विपद् कुनै एउटा प्रदेशको मात्रै समस्या नभई सिंगो देशको साझा चुनौती हो ।
उनले विपद् व्यवस्थापनमा सातै प्रदेशको सहभागिता रहने गरी ‘एकीकृत अन्तरप्रदेश विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गर्न प्रस्तावसमेत गरेका छन् । यस्तो कोषले विपद्का बेला प्रदेशहरूबीच स्रोत परिचालन, राहत वितरण र व्यवस्थापनमा सहकार्य बढाउन सहयोग पुग्ने उनको धारणा छ ।
मुख्यमन्त्री थापामगरले विपद् व्यवस्थापनसँगै आर्थिक एकीकरण र संघीयताको व्यावहारिक सबलीकरणका लागि पनि अन्तरप्रदेशीय सहकार्य अनिवार्य रहेको बताए । प्रदेशहरूबीच समन्वय बढाएर साझा समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
संघीयताको मर्मबारे धारणा राख्दै उनले राजनीतिक तथा प्रशासनिक शक्ति र स्रोतलाई तृणमूल तहसम्म विकेन्द्रीकरण गर्नु नै यसको मूल परिकल्पना भएको बताए । अधिकार र स्रोतको वास्तविक हस्तान्तरणबिना संघीयताको उद्देश्य पूरा हुन नसक्ने उनको भनाइ थियो ।
उनको प्रस्तावले विपद् व्यवस्थापनमा प्रदेशहरूबीच संयुक्त संयन्त्र निर्माण गर्ने र संघीयतालाई व्यवहारमै प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

















प्रतिक्रिया