खगेन्द्र सुनारसँग जोडिएको विवादमा रामकुमारीको चासो, पीडितलाई सुरक्षा दिन आग्रह


काठमाडौं । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादास्पद अडियो प्रकरणमा सम्बन्धित महिला र उनका नाबालक बच्चाको तत्काल उद्धार गरी सुरक्षा सुनिश्चित गर्न सरकार र नेपाल प्रहरीसँग माग गरेकी छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै झाँक्रीले सार्वजनिक भएको अडियोमा महिला र उनका बच्चालाई लक्षित गरी अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको भनिएको विषयले आफू स्तब्ध भएको बताएकी छन् । उनले अडियोमा बच्चासमेतलाई लक्षित गरी गरिएको भनिएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गरेकी छन् ।

‘त्यो अडियो त मैले सुन्न पनि सकिनँ । अझ बच्चालाई समेत मार्दिने, रगत खाने कुरा गरेको सुनिन्छ,’ झाँक्रीले लेखेकी छन् । उनले वयस्कबीचको सम्बन्धमा बच्चाको कुनै दोष नहुने भन्दै निर्दोष बालबालिकालाई लक्षित गरी अपमानजनक भाषा प्रयोग गर्नु अस्वीकार्य भएको धारणा व्यक्त गरेकी छन् ।

झाँक्रीले यस घटनालाई सामान्य व्यक्तिगत विवादका रूपमा मात्र हेर्न नहुने बताएकी छन् । उनका अनुसार सार्वजनिक भएको विषयले सम्बन्धित महिला र बच्चाको सुरक्षा तथा मानसिक अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुनै अप्रिय घटना हुनुअघि नै उनीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको माग छ ।

‘अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ । नेपाल प्रहरी यसमा गम्भीर बनोस् र तत्काल सुरक्षा प्रबन्ध गरोस्,’ उनले लेखेकी छन् । साथै, घटनाबारे तत्काल अनुसन्धान गरी दोषी ठहर हुनेमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ ।

झाँक्रीले रास्वपा सभापति रवि लामिछानेको समेत ध्यानाकर्षण गराउँदै पार्टीले प्रकरणलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन् । व्यक्तिगत मामिलामा सामान्यतया चासो नराख्ने भए पनि महिला र बालबालिकाको सुरक्षा तथा गम्भीर मानसिक तनावसँग जोडिएको विषय भएकाले बोल्न आवश्यक ठानेको उनको भनाइ छ ।

उनले नेपाल प्रहरीलाई महिला र बच्चाको अवस्थाबारे तत्काल जानकारी लिई आवश्यक सुरक्षा व्यवस्था मिलाउन र घटनाको निष्पक्ष अनुसन्धान अघि बढाउन आग्रह गरेकी छन् ।

सार्वजनिक भएको अडियोको सत्यता, घटनाको वास्तविक परिस्थिति र सम्भावित कानुनी जिम्मेवारीबारे सम्बन्धित निकायको अनुसन्धानबाट निष्कर्ष आउन बाँकी छ । यसबीच, महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने झाँक्रीको मागले प्रकरणमा पीडितको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने विषय उठाएको छ ।