विवाद चर्किएपछि रास्वपाको कदम, खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन सुरु गर्दै अनुसन्धान पूरा नहुँदासम्म उनलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सञ्चारमाध्यममार्फत सार्वजनिक भएका विषयलाई गम्भीरतापूर्वक लिँदै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ ।

सुनारसँग जोडिएको विवादित अडिओ प्रकरणमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषय सार्वजनिक भएको भन्दै पार्टीले यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले अनुसन्धान प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको जनाएको छ ।

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पारेको छ । कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिइने पार्टीको भनाइ छ ।

त्यस्तै, पार्टीले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले आन्तरिक छानबिन र सरकारी अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चालिने जनाएको छ ।

विवादित अडिओ प्रकरण सार्वजनिक भएपछि सुनारमाथि छानबिन र कारबाहीको माग बढिरहेका बेला रास्वपाले यस्तो कदम चालेको हो । यद्यपि, उनीमाथि लागेका आरोपको सत्यता र कानुनी जिम्मेवारीबारे सम्बन्धित निकायको अनुसन्धानबाट निष्कर्ष आउन बाँकी छ ।