काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै छन् ।
अर्थमन्त्री वाग्ले दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमानमार्फत बैंकक जाने कार्यक्रम रहेको छ ।
विश्वभरका अर्थमन्त्री तथा आर्थिक क्षेत्रका उच्च अधिकारी सहभागी हुने उक्त बैठकका क्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन् । बैठकमा अन्तर्राष्ट्रिय आर्थिक अवस्था, विकास वित्त, आर्थिक सहकार्य तथा नेपालसँग सम्बन्धित आर्थिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
अर्थमन्त्रीसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जानेछन् ।
विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकलाई सदस्य राष्ट्रहरूले विश्व अर्थतन्त्रका चुनौती, विकासका प्राथमिकता र वित्तीय सहकार्यबारे छलफल गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा लिने गरेका छन् । यस्तो बैठकमा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको सम्बन्ध विस्तार तथा आर्थिक सहकार्यका विषयमा संवाद गर्ने अवसर प्रदान गर्नेछ ।
अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

















प्रतिक्रिया