काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सूकलालबिच द्विपक्षीय भेटवार्ता भएको छ। मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र दक्षिण अफ्रिकाबिचको सम्बन्ध थप सुदृढ बनाउने तथा आर्थिक र लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबिच आर्थिक तथा लगानी सहयोग अभिवृद्धि गर्ने सम्भावनाबारे विचारविमर्श भएको थियो। साथै, नेपालमा हालै गएको विनाशकारी बाढीपहिरोको प्रसङ्ग उठाउँदै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय सहयोग बढाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए।
जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकका समस्या र सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्ने विषयमा पनि उनीहरूबिच धारणा आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
यसैबिच, नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वा पुइग इन्जाले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा सचिव राईले फ्रान्सको राजदूतका रूपमा नियुक्त भएकोमा पुइग इन्जालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल र फ्रान्सबिचको व्यापार तथा लगानी, जनस्तरको सम्बन्ध, पर्यटन, जलवायु परिवर्तन र दिगो विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उपायबारे छलफल भएको थियो।
नेपालले दक्षिण अफ्रिका र फ्रान्ससँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक सहकार्य, लगानी, पर्यटन तथा जलवायु परिवर्तनका साझा चुनौतीमा सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकता दिएको यी भेटवार्ताले देखाएका छन्।

















प्रतिक्रिया