विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री वाग्ले थाइल्यान्ड प्रस्थान


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।

मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले बैठकका क्रममा १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ।

बैठकमा विभिन्न देशका अर्थमन्त्री, विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरू सहभागी हुनेछन्। यस अवसरमा नेपालको वर्तमान आर्थिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य र विकासका प्राथमिकतासम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि तथा विभिन्न देशका अर्थमन्त्रीसँग हुने छलफललाई नेपालको आर्थिक अवस्था र विकासका प्राथमिकता प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। साथै, आर्थिक सहकार्य विस्तार र विकासका लागि अन्तर्राष्ट्रिय साझेदारीका विषयमा पनि छलफल हुने अपेक्षा छ।

अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख एवं सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक गएका छन्।

अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।