गुणस्तरहीन खाना बेच्ने होटलमाथि कारबाही हुन्छ : मन्त्री सुनिल लम्साल


काठमाडौँ । यात्राका क्रममा यात्रुलाई बासी तथा गुणस्तरहीन खाना बिक्री गर्ने, अस्वच्छता कायम राख्ने र चर्को मूल्य असुल्ने होटल तथा भोजनालयमाथि कारबाही गरिने भएको छ।

मन्त्री सुनिल लम्सालले यात्राका क्रममा बासी खाना, अस्वच्छ वातावरण वा तोकिएकोभन्दा बढी मूल्य असुलीजस्ता समस्या भोग्नुपरे प्रहरी हेल्पलाइन नम्बर १०० मा सम्पर्क गर्न यात्रुलाई आग्रह गरेका छन्।

यात्रुहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै होटल तथा भोजनालयमा खाद्य पदार्थको गुणस्तर, सरसफाइ र मूल्यमा मनपरी हुन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

यात्राका क्रममा गुणस्तरहीन खाना खुवाउने, अस्वच्छ वातावरणमा खाद्य पदार्थ बिक्री गर्ने तथा चर्को मूल्य असुल्ने प्रवृत्तिबाट यात्रुहरू प्रभावित हुन सक्ने भएकाले यस्ता गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

यात्रुहरूले आफूले भोगेका समस्या प्रहरीलाई जानकारी गराएमा आवश्यक छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाउन सहयोग पुग्नेछ।