मेक्सिकोमा आँधीको ताण्डव, कम्तीमा ८ जनाको मृ-त्यु


मेक्सिको । मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। आँधीसँगै आएको भारी वर्षा र बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको सरकारी अधिकारीहरूले बताएका छन्।

बुधबार सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार गत सातादेखि आएको आँधीका कारण अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियामा बाढी र वर्षाको समस्या देखिएको छ। प्रभावित क्षेत्रमा मेक्सिकोको सेना र नौसेनाले खोज तथा उद्धार कार्य जारी राखेका छन्।

सैन्य अधिकारीहरूका अनुसार सोमबारसम्म चार जनाको मृत्यु पुष्टि भएको थियो। त्यसबेला हेलिकोप्टरको सहायताबाट ३२ जनाको उद्धार गरिएको थियो। पछिल्लो विवरणमा मृतकको संख्या बढेर आठ पुगेको हो।

यस वर्ष प्रशान्त महासागरमा विकसित एल निनो मौसमी घटनाका कारण आँधीको गतिविधि तीव्र हुन सक्ने अनुमान गरिएको छ। एल निनोले समुद्रको सतहको तापक्रम बढाउनुका साथै हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउने गर्छ।

यसैबीच, मेक्सिको नजिकै प्रशान्त महासागरमा ‘साइमन’ र ‘ट्रुडी’ नामका आँधी पनि सक्रिय छन्। अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार तत्काल यी दुवै आँधी मेक्सिकोको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छैन।

‘साइमन’का कारण जालिस्को र गुरेरो राज्यमा भारी वर्षा भएको छ। गुरेरोमा हालै पर्खाल भत्किँदा ७१ वर्षीय एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।