बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको उद्धार


गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रबाट एक हजारभन्दा बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्।

उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेका छन्। बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्‍याएपछि त्यस क्षेत्रमा रहेका नागरिक आवतजावत गर्न नसकी फसेका थिए। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको शर्माले बताए।

उनका अनुसार बाढी गएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो। सोमबार ३२१, मंगलबार १८६ र बुधबार ४४१ जनालाई उद्धार गरिएको हो। उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणको कामलाई पनि तीव्रता दिइएको छ।

सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा प्रभावितहरूलाई खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री वितरण भइरहेको छ। सडक तथा पदमार्गमा क्षति पुगेका कारण उद्धार र राहत सामग्री ढुवानीका लागि हेलिकोप्टर प्रयोग गर्नुपरेको शर्माले बताए।

उनका अनुसार उद्धारका लागि प्रभावित क्षेत्रमा जाने हेलिकोप्टरले राहत सामग्रीसमेत पुर्‍याउने गरेका छन्। फर्कँदा भने प्रभावित क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने गरिएको छ।

रेडक्रसद्वारा राहत तथा प्रतिकार्य तीव्र

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा राहत तथा प्रतिकार्यका गतिविधि तीव्र बनाएको छ। रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपुरका स्वयंसेवक परिचालन गरिएको थियो। स्वयंसेवकहरूले पूर्वसूचना प्रवाह गर्नुका साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने काम गरिरहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट तथा डिग्निटी किटलगायत गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको रेडक्रसले जनाएको छ। प्रभावित क्षेत्रमा अस्पताल सञ्चालन गर्न सकिने दुई ठूला टेन्टसमेत पुर्‍याइएको खनालले जानकारी दिए।

बाढीबाट भएको क्षतिको आकलन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। सरकारसँगको समन्वयमा थप आवश्यक राहत सामग्री पठाउने तयारी भइरहेको रेडक्रसले जनाएको छ। प्रभावित नागरिकलाई मानवीय सहायता उपलब्ध गराउन स्वयंसेवकहरू निरन्तर खटिरहेका छन्।