नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै


काठमाडौं । नवरात्रको पाँचौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ।

पौराणिक मान्यताअनुसार स्कन्दमाता देवी पार्वतीको स्वरूप हुन्। स्कन्दका माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको हो। स्कन्दमाताको प्रतिमामा सिंहासनमा विराजमान भई दुवै हातमा कमलको फूल धारण गरेको स्वरूप देखाइन्छ।

धार्मिक विश्वासअनुसार नवरात्रका अवसरमा देवीको श्रद्धापूर्वक पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीका नौ स्वरूपको विशेष पूजा आराधना गर्छन्।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डाको पूजा गरिन्छ। पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ भने छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ।

यस वर्ष नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो। त्यसयता प्रत्येक दिन नवदुर्गाका फरक–फरक स्वरूपको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै आएको छ।

नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन्।