इरान । मध्यपूर्वमा जारी युद्धका कारण समुद्री व्यापार र ऊर्जा पूर्वाधारमाथिको जोखिम थप बढेको छ । स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले जनाएको छ । यसैबीच, साउदी अरबको सरकारी स्वामित्वमा रहेको तेल कम्पनी अरामको मुख्यालयमा हुथी विद्रोहीले आक्रमण गरेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।
इरानी सरकारी टेलिभिजनले प्रसारण गरेको आईआरजीसीको वक्तव्यअनुसार बुधबार बिहान इरानले अवैध तथा जोखिमपूर्ण मार्ग भनेको बाटो हुँदै यात्रा गरिरहेको जहाज समुद्री सुरुङमा ठोक्किएको थियो । जहाजमा करिब दुई हजार ५०० कन्टेनर रहेको जनाइएको छ । प्रसारण गरिएका दृश्यमा जहाज पानीमा एकातिर ढल्किएको र त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखाइएको थियो । यद्यपि, समाचार संस्था एसोसिएटेड प्रेसले ती दृश्यको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
यसैबीच, सिंगापुरको सामुद्रिक तथा बन्दरगाह प्राधिकरणले सिंगापुरमा दर्ता भएका दुई मालवाहक जहाज मंगलबार र बुधबार स्ट्रेट अफ होर्मुज पार गर्ने क्रममा अज्ञात वस्तुबाट प्रहारमा परेको जनाएको छ । तीमध्ये एउटा जहाज डुबेको छ भने अर्को सुरक्षित स्थानमा पुग्न सफल भएको छ । डुबेको जहाजका सबै चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको र दुवै घटनामा मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ ।
तर, सिंगापुरमा दर्ता भएको डुबेको जहाज र इरानले समुद्री सुरुङमा ठोक्किएको बताएको जहाज एउटै हुन् वा फरक भन्नेबारे स्पष्ट भइसकेको छैन । इरानले आफ्नो अनुमति बिना होर्मुज जलडमरूमध्य पार गर्ने प्रयास नगर्न जहाजहरूलाई चेतावनी दिँदै आएको छ । अर्कोतर्फ, अमेरिकी सेनाले ओमानको तट नजिकको मार्ग हुँदै जहाजहरूलाई जलडमरूमध्य पार गर्न सहयोग गरिरहेको जनाइएको छ ।
अरामको मुख्यालयमा हुथी विद्रोहीको आक्रमण
यसैबीच, साउदी अरबको सरकारी स्वामित्वमा रहेको तेल कम्पनी अरामको मुख्यालयमा हुथी विद्रोहीले रातिको समयमा आक्रमण गरेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् । आक्रमणबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत र अन्य वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने कार्यालयहरूमा क्षति पुगेको जनाइएको छ । भवनको माथिल्लो तीन तलालाई लक्षित गरिएको बताइए पनि घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले जानकारी दिएका छन् ।
यसअघि साउदी अरबको राजधानी रियादमा पनि विस्फोटका आवाज सुनिएको स्थानीय बासिन्दाहरूले बताएका थिए । त्यसपछि छिमेकी यमनमा सक्रिय हुथी विद्रोहीमाथि आक्रमणको आरोप लगाइएको थियो ।
होर्मुज जलडमरूमध्य विश्वको महत्त्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक हो । यहाँ जहाजमाथि हुने आक्रमणले अन्तर्राष्ट्रिय ढुवानी, ऊर्जा आपूर्ति र तेल बजारमा दबाब बढाउन सक्छ । समुद्री मार्गमा बढ्दो असुरक्षा र ऊर्जा पूर्वाधारमाथिका आक्रमणले मध्यपूर्वको द्वन्द्व थप जटिल बन्न सक्ने चिन्ता बढाएको छ ।
















प्रतिक्रिया