काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उत्कृष्ट तीन उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
मन्त्रालयले असोज २८ गते प्रकाशित गरेको सूचनाअनुसार सिफारिसमा पर्नेहरूमा तनहुँको भिमाद नगरपालिका–१ का डिल्लीराज लम्साल, सिरहाको विष्णुपुर गाउँपालिका–१ की संगिता यादव र काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० का होमनाथ न्यौपाने रहेका छन् । मन्त्रालयले तीनै जनाको नाम वर्णानुक्रमका आधारमा सार्वजनिक गरेको हो ।
मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम गठित सिफारिस समितिले असोज २२ गते गरेको निर्णयअनुसार उम्मेदवारहरूको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
खुला प्रतिस्पर्धामा सहभागी उम्मेदवारमध्ये उत्कृष्ट तीन जनालाई छनोट गरी नियुक्तिको प्रक्रियाका लागि अघि बढाइएको हो । अब मन्त्रिपरिषद्ले सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नको खरिद, भण्डारण तथा बिक्री वितरणलगायतका काम गर्दै आएको छ । कम्पनीको नेतृत्वमा नियुक्त हुने नयाँ सीईओले संस्थाको व्यवस्थापन, सेवा प्रवाह र खाद्य आपूर्ति व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछन् ।

















प्रतिक्रिया