काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खसीबोका तथा च्याङ्ग्राको खरिदबिक्री बढेको छ । दसैँमा मासुका लागि खसीबोका किन्ने उपभोक्ताको चहलपहल बढेसँगै कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारीलगायतका स्थानमा कारोबार बढेको हो ।
व्यापारीहरूले उपत्यकाका नजिकका जिल्लासँगै बझाङलगायतका विभिन्न स्थानबाट खसीबोका तथा च्याङ्ग्रा ल्याएर बिक्री गरिरहेका छन् । दसैँमा मासुको खपत बढ्ने भएकाले बजारमा खसीबोका तथा च्याङ्ग्राको कारोबारले गति लिएको छ ।
यस वर्ष उपत्यकामा जिउँदो खसीबोकाको मूल्य गत वर्षको तुलनामा बढेको व्यापारीहरूले बताएका छन् । बजारमा जिउँदो खसीबोका प्रतिकिलो ९०० देखि ९५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । च्याङ्ग्राको मूल्य भने खासै परिवर्तन नभएको बताइएको छ । हाल च्याङ्ग्रा प्रतिकिलो १ हजार २०० देखि १ हजार ३५० रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको छ ।
दसैँमा उपभोक्तालाई सहुलियत दरमा खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराउँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने यस वर्ष बजेट अभावका कारण बिक्री नगर्ने जनाएको छ । कम्पनीले विगतका वर्षमा चाडपर्व लक्षित बिक्रीमार्फत उपभोक्तालाई बजार मूल्यभन्दा सहुलियतमा खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराउँदै आएको थियो ।
कम्पनीले यस वर्ष बिक्री नगर्ने भएपछि उपभोक्ताले निजी व्यापारी तथा बजारमा उपलब्ध खसीबोका र च्याङ्ग्रा खरिद गर्नुपर्ने भएको छ । दसैँको मुख्य दिन नजिकिँदै जाँदा बजारमा माग र चहलपहल थप बढ्न सक्ने देखिएको छ ।

















प्रतिक्रिया