दसैँ बिदामा पनि खुल्नेछ काठमाडौँ जिल्ला अदालत, यी सेवा पाइने


काठमाडौँ । विजया दशमीका अवसरमा सार्वजनिक बिदा भए पनि काठमाडौँ जिल्ला अदालत खुला रहने भएको छ । काठमाडौँ जिल्ला अदालत, बबरमहलले दसैँ बिदाको अवधिमा अत्यावश्यक न्यायिक सेवाहरू प्रवाह गर्न कार्यालय खुला राख्ने जनाएको हो ।

अदालतले जारी गरेको सूचनाअनुसार शनिबार, फूलपाती र विजया दशमी अर्थात् टीकाको दिनबाहेक दसैँ बिदाका अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहनेछ । यस अवधिमा अत्यावश्यक कानुनी प्रक्रिया तथा न्यायिक सेवासम्बन्धी काम गरिने अदालतले जनाएको छ ।

दसैँ बिदाका समयमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जीको समर्थन तथा त्यससँगै उपस्थित अभियुक्तको म्याद थप गर्ने सेवा उपलब्ध हुनेछ । त्यस्तै, कल डिटेल्स (सीडीआर) का लागि अनुमति दिने र पक्राउ अनुमति प्रदान गर्ने कामसमेत गरिनेछ ।

यसैगरी, धरौटी रकम दाखिला गर्न नसकेका कारण थुनामा राखिएका प्रतिवादीले धरौटी बुझाउन ल्याएमा रकम बुझ्ने व्यवस्था पनि मिलाइएको छ । अदालतको फैसलाबमोजिम ठहर भएको जरिवाना तिरेर छुट्न सक्ने व्यक्तिका हकमा जरिवाना रकम बुझ्ने सेवा पनि उपलब्ध हुनेछ ।

दसैँ बिदाका समयमा पनि अत्यावश्यक कानुनी प्रक्रिया प्रभावित नहोस् र सेवाग्राहीलाई आवश्यक न्यायिक सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको अदालतले जनाएको छ ।