काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपका तौरतरिकामा ठूलो परिवर्तन आएको बताएका छन् । उनले लोकतन्त्रका जनक र रक्षक दाबी गर्ने शक्तिहरूबाटै अलोकतान्त्रिक गतिविधि भइरहेको आरोप लगाउँदै विश्व राजनीतिमा देखिएका यस्ता प्रवृत्तिबारे गम्भीर अध्ययन हुनुपर्ने बताएका छन् ।
बिहीबार पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै ओलीले विभिन्न देशमा सरकार परिवर्तन गराउने र आफूअनुकूलका सरकार स्थापना गर्ने गतिविधि भइरहेको दाबी गरे ।
‘ग्लोबल पोलिटिक्समा हेर्नुपर्ने कुरा के हो भने इन्टरफेरेन्स फरक गहिराइको छ । राष्ट्रहरूमाथिको एक्स्प्लोइटेसन, इन्टरफेरेन्स फरक लेभलको छ,’ उनले भने ।
ओलीले लोकतन्त्रको संरक्षण गर्ने दाबी गर्नेहरूबाटै षड्यन्त्रमूलक ढङ्गले सत्ता परिवर्तन गराउने र आफूअनुकूलका सरकार स्थापना गर्ने प्रवृत्ति देखिएको आरोप लगाए । यस्ता गतिविधिबारे अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री ओलीले यस्तो हस्तक्षेपको सिकार नेपाल मात्र नभई अन्य देशहरू पनि भइरहेको बताए । लोकतन्त्रको अवस्थामाथि प्रश्न उठाउँदै उनले भने, ‘हामी कम्प्रिहेन्सिभ डेमोक्रेसी भनिरहेका छौँ । यहाँ त डेमोक्रेसी नै कता पुग्यो, केको कम्प्रिहेन्सिभ डेमोक्रेसी ?’
उनले रातारात लोकप्रिय व्यक्तिलाई अलोकप्रिय र अलोकप्रिय व्यक्तिलाई लोकप्रिय बनाउने प्रवृत्तिसमेत खतरनाक रहेको टिप्पणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियो प्रकरणको प्रसङ्ग उल्लेख गर्दै ओलीले यस्तो प्रवृत्तिबारे अध्ययन गर्नुपर्ने धारणा राखे ।
‘रातारात हिरो बनाइदिन्छन् । खोतल्ने हो भने यहाँ कति हिरो छन् । यो ट्रेन्ड बहुत खतरनाक छ । यस्तो अरू देशमा पनि भइरहेको छ,’ उनले भने ।
ओलीले यस्ता गतिविधिले विश्व व्यवस्थामै असर पारिरहेको दाबी गर्दै त्यसको सबैभन्दा ठूलो मार नेपालजस्ता देशले खेप्नुपर्ने बताए । बदलिँदो विश्व राजनीतिक परिस्थिति, बाह्य हस्तक्षेप र सत्ता परिवर्तनका प्रवृत्तिबारे गहिरो अध्ययन तथा अनुसन्धान आवश्यक रहेको उनको जोड थियो ।
उनले विश्व राजनीतिमा भइरहेका परिवर्तनलाई बुझ्न र त्यसको नेपालमा पर्ने प्रभाव विश्लेषण गर्न नीति अध्ययन तथा अनुसन्धानको भूमिका महत्त्वपूर्ण हुने संकेतसमेत गरे ।
















प्रतिक्रिया