फूलपातीको दिन कहाँ-कहाँ पर्दैछ चट्याङसहित वर्षा ? यस्तो छ मौसम पूर्वानुमान


काठमाडौं – बडादशैंको फूलपातीका दिन आज देशका केही पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले केही स्थानमा वर्षा हुने सम्भावना रहेको हो।

महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण पछिल्लो समय देशका विभिन्न स्थानमा फाट्टफुट्ट वर्षा भइरहेको छ। केही स्थानमा मध्यम वर्षा मापन भएको छ भने अन्य स्थानमा हल्का वर्षा भएको छ।

पछिल्लो २४ घण्टामा स्याङ्जामा सबैभन्दा बढी १८.२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, कास्कीको मालेपाटन केन्द्रमा १६.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। मौसम विज्ञानअनुसार १० देखि ५० मिलिमिटरसम्म वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ।

आज पनि देशका केही पहाडी भूभागमा चट्याङसहित वर्षा हुन सक्ने भएकाले दशैंको टीका तथा जमरा घर लैजाने र यात्रामा निस्कनेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न उपयुक्त हुनेछ।