प्राकृतिक विपत्तिका कारण कांग्रेसको परम्परागत चियापान स्थगित


काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने निर्णय गरेको छ। देशका विभिन्न क्षेत्रमा हालै आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको हो।

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा बूढीगण्डकीमा आएको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको भन्दै कांग्रेसले देश शोकमा रहेका बेला उत्सवमय कार्यक्रम आयोजना नगर्ने जनाएको छ।

यसैबीच, पार्टी सभापति गगनकुमार थापाले पनि शोकको यस घडीमा चाडपर्व भड्किलो ढङ्गले नमनाउन सबैलाई आग्रह गरेका छन्। उनले चाडपर्वलाई शान्त, संयमित र पारिवारिक वातावरणमा सीमित रहेर मनाउन अपिल गरेका हुन्।

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान समारोहलाई शुभकामना आदानप्रदान र राजनीतिक दलहरूबीच आपसी सद्भाव अभिवृद्धि गर्ने परम्परागत कार्यक्रमका रूपमा लिँदै आएको छ।

वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि चियापान समारोह सुरु गरेका थिए। त्यसयता विशेष परिस्थितिमा रोकिएका केही वर्षबाहेक कांग्रेसले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ।

यस वर्ष भने विपत्तिबाट प्रभावित नागरिकको पीडालाई ध्यानमा राख्दै कांग्रेसले उक्त परम्परागत समारोह नगर्ने निर्णय गरेको हो।