दसैँलाई लक्षित गर्दै तीन दिनका लागि खुलाइयो तातोपानी नाका


सिन्धुपाल्चोक । दसैँका सामान तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका आजदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामग्री तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खुलाएको हो। नाका सञ्चालनमा आएपछि दसैँका लागि आवश्यक सामान भित्र्याउन व्यवसायीलाई सहज हुने अपेक्षा गरिएको छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार सीमावर्ती लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको छ। चीनतर्फको न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका उनले जानकारी दिए।

चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। नाका बन्द हुँदा सामान आयात प्रभावित भएको थियो।

दसैँ नजिकिँदै गर्दा तीन दिनका लागि नाका खुलाइएपछि चाडपर्वका सामग्री तथा अत्यावश्यक वस्तु भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, सीमापारि प्रतीक्षामा रहेका सबै कन्टेनर यही अवधिमा नेपाल भित्रिन सक्ने वा नसक्नेबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन।