वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर महानवमीमा खुला


काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक तलेजु भवानी मन्दिर महानवमीको अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार मन्दिर कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनका लागि खुला रहनेछ।

वर्षमा महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा तलेजु भवानीको दर्शन तथा पूजाआराधना गर्न प्रत्येक वर्ष हजारौँ भक्तजन पुग्ने गर्छन्। महानवमीका दिन मन्दिर खुल्ने भएकाले बिहानैदेखि दर्शनार्थीको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेपछि मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको जानकारी दिएकी छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको साइतअनुसार असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तलेजु भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १०ः३९ बजे देवीलाई स्थिरासनमा राखिएको थियो।

यसैबीच, महाअष्टमीको अवसरमा मन्दिर परिसरमा कालरात्रि पूजा गरिँदैछ। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार कालरात्रि पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा रहेको छ।

विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजाआराधना गरिनेछ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १०ः५१ बजे देवीको यात्रा गराउने र बिहान ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराउने कार्यक्रम तय गरिएको छ।

काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तलेजु भवानी मन्दिरमा महानवमीका दिन दर्शन गर्न पाउनु भक्तजनका लागि विशेष अवसर मानिन्छ। त्यसैले दर्शनका लागि जाने भक्तजनले मन्दिर खुल्ने समयलाई ध्यानमा राखेर आफ्नो भ्रमणको तयारी गर्न सक्नेछन्।