कुन दिशातर्फ फर्केर दशैँको टिका लगाउने ?


काठमाडौँ । आज बडादसैँको मुख्य दिन विजयादशमी। यस दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ। गुरु–पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा अन्य मान्यजन र ठूलाबडाको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गरी यश, ऐश्वर्य, कार्यक्षमतामा वृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आशीर्वाद लिने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। दसैँलगायत विभिन्न पूजा, आजा तथा चाडपर्वमा नेपाली समाजमा कुन दिशातर्फ फर्केर टीका लगाउँदा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहँदै आएको छ।

विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम दिशातर्फ फर्कनुपर्ने र टीका लगाइदिने व्यक्ति पूर्व दिशातर्फ फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको समितिले जनाएको छ।

धार्मिक मान्यताअनुसार चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने विश्वास गरिन्छ। टीका लगाइमाग्ने र लगाइदिने व्यक्तिले फर्कनुपर्ने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण गरिने जनाइएको छ।

आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरा पनि लगाउने गरिन्छ। जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने धार्मिक परम्परा छ।