काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग अन्त्य भएको बताएका छन्। उनको यही अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आपत्ति जनाउँदै सरकारको आधिकारिक धारणा माग गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको टिप्पणी गरेका छन्। उनका अनुसार नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभई राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित छ।
भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने भाष्य अब पुरानो भएको बताएका थिए। नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध रहेको उनको भनाइ थियो।
वाग्लेको उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै थापाले सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन्। राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने गरी विदेशी मञ्चमा अभिव्यक्ति दिनु गैरजिम्मेवार भएको उनको आरोप छ।
‘के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ?’ भन्दै थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई समेत सम्बोधन गरेर सरकारको धारणा स्पष्ट पार्न माग गरेका छन्। जिम्मेवार पदमा रहेका व्यक्तिको अभिव्यक्ति सरकारको आधिकारिक दृष्टिकोण हो वा होइन भन्ने विषयमा जवाफ आउनुपर्ने उनको भनाइ छ।
वाग्लेको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि आलोचना गरेका छन्। उनले अर्थमन्त्रीको भनाइलाई राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक बुझाइसँग जोडेर प्रश्न उठाएका छन्।
यसअघि पनि वाग्लेले नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानी र निर्माण कम्पनीको संलग्नताबारे भारतको अडान तथा दक्षिण एसियामा भारतको प्रभावक्षेत्रसम्बन्धी ‘मनरो डक्ट्रिन’को सन्दर्भमा धारणा राख्दा विवाद भएको थियो। अहिले भारत भ्रमणका क्रममा दिएको पछिल्लो अभिव्यक्तिले फेरि नेपालको राष्ट्रवाद, परराष्ट्र नीति र छिमेकीसँगको सम्बन्धबारे राजनीतिक बहस चर्काएको छ।
















प्रतिक्रिया