अस्पतालमै नवजात शिशु साटिएको आरोप, सत्यतथ्य पत्ता लगाउन डीएनए परीक्षण माग


जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशु साटिएको आशंका गर्दै एक परिवारले डीएनए परीक्षण गराउन माग गरेको छ। महोत्तरीको भङ्गहा नगरपालिका–९ निवासी २४ वर्षीय अरुण सदाले घटनाको सत्यतथ्य पत्ता लगाइदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन्।

अरुणका अनुसार उनकी २० वर्षीया पत्नी सरिता सदालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। सोही दिन साँझ ६ बजेर ३७ मिनेटमा उनले बच्चा जन्माएकी थिइन्।

अरुणले बच्चा जन्मिएलगत्तै आफू र परिवारका अन्य सदस्यलाई देखाउँदा छोरा रहेको तर केही समयपछि हेर्दा छोरी देखिएको दाबी गरेका छन्। अस्पतालका नर्सले पनि छोरी नै भएको बताएपछि बच्चा साटिएको आशंका उत्पन्न भएको उनको भनाइ छ।

घटनाबारे वास्तविकता पत्ता लगाउन अरुणले शनिबार प्रहरीसमक्ष निवेदन दिँदै नवजात शिशु र आफ्नो डीएनए परीक्षणका लागि नमुना संकलन गरिदिन माग गरेका छन्।

यद्यपि, अस्पतालमा शिशु साटिएको हो वा होइन भन्ने विषयमा स्वतन्त्र पुष्टि भइसकेको छैन। डीएनए परीक्षण तथा सम्बन्धित निकायको अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता खुल्नेछ।