काठमाडौं । हातमा चोट लागेपछि ब्याटर शुभ कंसाकार नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्न नपाउने भएका छन्। उनको स्थानमा कर्णालीले शिवम तिवारीलाई टोलीमा समावेश गरेको छ।
आगामी एनपीएलका लागि कर्णालीमा अनुबन्ध भएका शुभको हातमा चोट लागेपछि खेलाडी परिवर्तन गरिएको फ्रेन्चाइजले जनाएको छ।
शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए। भक्तपुरका उनी अब एनपीएलमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन्।
शिवमको आगमनसँगै कर्णाली याक्सको घरेलु खेलाडी सूचीमा मार्की खेलाडी सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा रहेका छन्।
कर्णालीले विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेभिड मिलर, पाकिस्तानका ट्वान्टी–२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलात, स्कटल्यान्डका अलराउन्डर मार्क वाट तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अलीलाई अनुबन्ध गरिसकेको छ।
शुभको चोटपछि टोलीमा गरिएको परिवर्तनसँगै कर्णाली याक्सले एनपीएलको आगामी संस्करणका लागि आफ्नो टोलीलाई थप व्यवस्थित बनाउने प्रयास गरेको छ।
















प्रतिक्रिया