प्रधानमन्त्री बालेनले नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको संज्ञा दिँदै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्।
उनले लिगमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन्।
‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्,’ उनले भनेका छन्।
आज हुने उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल अपराह्न ४:३० बजे सुरु हुने तालिका छ।
प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन्।
















प्रतिक्रिया