नयाँ दिल्ली । बङ्गालको खाडीबाट भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको चक्रवात ‘अर्नब’का कारण भारतका विभिन्न राज्यमा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम बढेको छ। मौसम विभागका अनुसार चक्रवात अक्टोबर २७ सम्ममा भीषण आँधीमा परिणत हुन सक्ने र अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किन सक्ने अनुमान गरिएको छ।
चक्रवातको प्रभावका क्रममा प्रतिघण्टा १४० किलोमिटरसम्मको गतिमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशमा करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। तटीय जिल्लाहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको छ भने माछा मार्नेहरूलाई अक्टोबर २९ सम्म समुद्रमा नजान सल्लाह दिइएको छ।
चक्रवातको प्रभाव ओडिशामा पनि पर्ने अनुमान गरिएको छ। सम्भावित विपद्को सामना गर्न उद्धार तथा राहतका लागि ६० वटा उद्धार टोली परिचालन गर्ने तयारी गरिएको छ। ओडिशाका छ जिल्लामा अक्टोबर २८ र २९ गते विद्यालय तथा कलेज बन्द रहने जनाइएको छ।
मौसम पूर्वानुमानअनुसार मङ्गलबार आन्ध्र प्रदेशमा भारी वर्षाको रेड अलर्ट र ओडिशामा ओरेन्ज अलर्ट जारी गरिएको छ। छत्तीसगढ, तेलङ्गाना, तमिलनाडु, पुडुचेरी, केरला, कर्नाटक र रायलसीमामा वर्षाको यलो अलर्ट जारी गरिएको छ।
त्यस्तै, बुधबार आन्ध्र प्रदेश, छत्तीसगढ, तेलङ्गाना र ओडिशामा अति भारी वर्षाको रेड अलर्ट जारी गरिएको छ। झारखण्डमा ओरेन्ज अलर्ट तथा पश्चिम बङ्गाल, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पूर्वी मध्य प्रदेश, विदर्भ र कर्नाटकमा यलो अलर्ट जारी गरिएको छ।
यसैबीच, तमिलनाडुमा विगत तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। अरनिको भास्कर नगर जलमग्न हुँदा केही बासिन्दा घरभित्रै थुनिएको जनाइएको छ। कोडाइकनालमा पर्यटकको प्रवेशमा रोक लगाइएको छ भने तिरुवारुर जिल्लामा पनि तीव्र वर्षा भएको छ। यद्यपि, तिरुवारुरमा विद्यालय तथा कलेज खुला नै रहेको समाचारमा उल्लेख छ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, स्थानीय प्रशासनको निर्देशन पालना गर्न र मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिएको छ।

















प्रतिक्रिया