सुदूरपश्चिमलाई सुरुमै ठूलो झट्का, पावर प्लेमै गुमायो चार विकेट


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ । लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पावर प्लेको ६ ओभर नसकिँदै चार विकेट गुमाएको छ ।

सुदूरपश्चिमले २४ रनको अवस्थामा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २८ रन पुग्दा थप दुई विकेट गुमाएपछि टोली दबाबमा परेको हो ।

सुदूरपश्चिमका विनोद भण्डारी ९ रन बनाएर आउट भए । आरिफ शेखले ६ बल सामना गरे पनि खाता खोल्न सकेनन् । ब्रान्डन म्याकमुलेन २ बलमा २ रन बनाएर पवेलियन फर्किए भने सैफ जाइबले १३ रन बनाएर विकेट गुमाए ।

लुम्बिनी लायन्सका लागि किशोर महतोले दुई विकेट लिए भने शेर मल्लले एक विकेट हात पारे । पावर प्लेको ६ ओभरमा सुदूरपश्चिमले चार विकेट गुमाएर ३८ रन जोडेको छ ।

खेलमा टस जितेको लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिम ब्याटिङमा उत्रिएको हो । साविक विजेता लुम्बिनी र गत संस्करणको उपविजेता सुदूरपश्चिमबीचको यो खेलसँगै एनपीएलको तेस्रो संस्करण सुरु भएको हो ।