लुम्बिनीका बलरसामु टिक्न सकेनन् सुदूरपश्चिमका ब्याटर


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी बनेको छ । लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १० ओभरको खेल सकिँदा सात विकेट गुमाएर ५८ रन मात्रै जोडेको छ ।

सुदूरपश्चिमले पावर प्लेमै चार विकेट गुमाएको थियो । २४ रन हुँदा पहिलो विकेट गुमाएको टोलीले २८ रन पुग्दा थप दुई विकेट गुमाएको थियो । त्यसपछि पनि विकेट पतन नरोकिँदा सुदूरपश्चिम दबाबमा परेको छ ।

सुदूरपश्चिमका विनोद भण्डारीले ९ रन बनाए भने आरिफ शेख ६ बल खेलेर खाता नखोल्दै आउट भए । ब्रान्डन म्याकमुलेनले दुई बलमा दुई रन बनाएर विकेट गुमाए । सैफ जाइब १३ रनमा आउट हुँदा इशान पाण्डेले नौ बलमा सात रन मात्रै बनाउन सके ।

स्कट कुगेलेन पनि दुई बल सामना गरेर खाता नखोल्दै पवेलियन फर्किए । लगातार विकेट गुमाएपछि सुदूरपश्चिम ठूलो दबाबमा परेको छ ।

लुम्बिनी लायन्सका लागि शेर मल्लले तीन विकेट लिएका छन् भने किशोर महतोले दुई विकेट हात पारेका छन् । लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिम ब्याटिङमा उत्रिएको हो ।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङमा प्रभावशाली सुरुवात गरेको छ ।