काठमाडौं । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले कांग्रेसले निर्माण गरेको प्रजातान्त्रिक वातावरणकै कारण विभिन्न व्यक्तिले अवसर पाएको टिप्पणी गरेका छन् । उनले कांग्रेसले प्रजातान्त्रिक घर बनाए पनि त्यस क्रममा धेरै व्यक्ति गुमाएको बताएका हुन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै भण्डारीले प्रधानमन्त्री बालेन शाहको उदयदेखि क्रिकेट मैदान निर्माणसम्मका प्रसङ्गलाई जोडेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले भनेका छन्, “कांग्रेसले प्रजातान्त्रिक घर बनायो, धेरै व्यक्ति कांग्रेसले गुमायो । जहाँ बालेन प्रधानमन्त्री बन्ने अवसर पाए । केपी ओलीले क्रिकेट मैदान निर्माणमा जोड दिए, आज बालेनले एनपीएल उद्घाटन गरे । बालेनले टुँडिखेलमा दुबो रोपे, कांग्रेसले स्वच्छ ठाउँमा अधिवेशन सम्पन्न गर्यो तर बिग्रेको दुबो कांग्रेस रोप्दै छ ।”
भण्डारीले देशलाई जनताका लागि प्रजातान्त्रिक घरका रूपमा चित्रण गरेका छन् । उनका अनुसार प्रजातान्त्रिक घरभित्र व्यक्तिका इच्छाअनुसार फरक–फरक कोठा हुन सक्छन् र समय तथा आवश्यकताअनुसार अतिथि आउने–जाने क्रम चलिरहन्छ । तर, सबैका अवसर सुरक्षित रहन घर बलियो हुनुपर्ने उनको भनाइ छ ।
उनले तिथि र समय परिवर्तन भइरहने भए पनि संस्था र विचार जीवित रहनुपर्नेमा जोड दिएका छन् । “तसर्थ, तिथि आउँछन्, जान्छन्, संस्था र विचार जीवित रहनुपर्छ,” भण्डारीले भनेका छन् ।
भण्डारीको अभिव्यक्तिमा लोकतान्त्रिक व्यवस्था, राजनीतिक अवसर र कांग्रेसको संस्थागत अवस्थाबारे उनको धारणा झल्किएको छ ।

















प्रतिक्रिया