काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन आज पहिलो नम्बरमा पेसी चढेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासको ‘क’ मा उक्त रिटको पेसी तोकिएको हो। भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले गत असोज ७ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
उक्त निवेदनमाथि भोलिपल्टै सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। अदालतले बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्नुपर्ने वा नपर्ने आधार र कारणसहित आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सम्बन्धित निकायलाई आदेश दिएको थियो।
यसअघि धितोपत्र कारोबारसम्बन्धी प्रकरणमा भट्ट गत चैत १९ गते पक्राउ परेका थिए। प्रहरी हिरासतमा रहेकै समयमा उनकी श्रीमती आयुष्मा नेपालले वैशाख १८ गते भट्टको रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
उक्त रिट पनि दर्ता भएकै दिन सुनुवाइका लागि पेसीमा चढेको थियो। तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएपछि कुनै आदेश हुन सकेन।
त्यसपछि वैशाख २१ गते पुनः पेसी तोकिएको थियो। तर, उक्त दिन पनि ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ अघि बढ्न सकेन।
यसरी श्रीमतीका तर्फबाट दायर गरिएको रिटमा सुनुवाइ हुन नसकेपछि भट्टका बुबाले असोज ७ गते पुनः बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्।
आज उक्त निवेदन सर्वोच्च अदालतको पेसी सूचीमा पहिलो नम्बरमा परेसँगै भट्टको थुनासम्बन्धी विषयमा अदालतबाट के आदेश आउँछ भन्ने चासो बढेको छ

















प्रतिक्रिया