काठमाडौँ । भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट देहरादुनतर्फ फर्किँदै गरेको एक हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ। दुर्घटनापछि हेलिकप्टरमा सवार यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।
प्रारम्भिक विवरणअनुसार हेलिकप्टर बदरीनाथबाट देहरादुनको सहस्रधाराका लागि उडेको थियो। हेलिकप्टरमा चालक दलका सदस्यबाहेक ६ जना यात्रु सवार रहेको बताइएको छ।
चमोली जिल्ला हुँदै देहरादुनतर्फ आउँदै गरेको हेलिकप्टरका पाइलटसँग दुर्घटनापछि सम्पर्क स्थापित हुन सकेको छैन। घटनालगत्तै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली खोजी तथा उद्धार कार्यमा खटिएको छ।
खोजी टोलीले पाइलटसँग रेडियो तथा अन्य सञ्चार माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिरहेको भए पनि हालसम्म सफलता प्राप्त हुन सकेको छैन।
उक्त क्षेत्रमा प्रतिकूल मौसम र खराब दृश्यताका कारण खोजी कार्यमा कठिनाइ भइरहेको छ। मौसम प्रतिकूल रहे पनि हेलिकप्टरको सम्भावित अवस्थिति पत्ता लगाउन ड्रोनको प्रयोग गरी खोजी कार्य तीव्र पारिएको प्रशासनले जनाएको छ।
हेलिकप्टर दुर्घटना हुनुको वास्तविक कारण तथा त्यसमा सवार यात्रु र चालक दलका सदस्यको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

















प्रतिक्रिया