खराब मौसमका कारण हेलिकप्टर दुर्घटना, पाइलटसँग सम्पर्क हुन सकेन


काठमाडौं । भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट देहरादुनतर्फ फर्किँदै गरेको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ। चमोली हुँदै देहरादुनको सहस्रधारातर्फ उडेको हेलिकप्टरका पाइलटसँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन।

प्रारम्भिक जानकारीअनुसार हेलिकप्टरमा चालक दलका सदस्यबाहेक ६ जना यात्रु सवार थिए।

घटनालगत्तै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली खोजी तथा उद्धार कार्यमा खटिएको छ। उद्धार टोलीले रेडियो तथा अन्य माध्यमबाट पाइलटसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको छ।

प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ भइरहेको छ। खराब मौसमका बाबजुद ड्रोनको सहायताले हेलिकप्टरको अवस्थिति पत्ता लगाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।

हेलिकप्टर दुर्घटनाको वास्तविक कारण र यात्रुहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।