काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय भ्रमण गर्दै विपद् प्रतिकार्य, प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापनामा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भ्रमणका क्रममा मुख्यमन्त्री थापाले नेपाल रेडक्रससँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै संस्थाले मानवीय सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। उनले आफ्नो कर्मजीवनको प्रारम्भिक यात्रा नेपाल रेडक्रसबाटै सुरु भएको बताए।
रेडक्रसको सदस्यका रूपमा मानवीय सेवामा संलग्न हुँदा नेतृत्व विकास, जनसम्पर्क, प्राथमिक उपचार र विपद् व्यवस्थापनसम्बन्धी सीप हासिल गर्न सहयोग पुगेको उनको भनाइ थियो। आगामी दिनमा पनि व्यक्तिगत तथा बागमती प्रदेश सरकारका तर्फबाट रेडक्रसलाई आवश्यक सहयोग र सहकार्य गर्ने उनले प्रतिबद्धता जनाए।
भ्रमणका क्रममा मुख्यमन्त्री थापा र रेडक्रसका पदाधिकारीबीच विपद् प्रतिकार्य, प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापना र मानवीय सेवाका क्षेत्रमा भइरहेका कामबारे छलफल भएको थियो।
रसुवाका बाढीपीडितको पुनःस्थापनाका लागि सम्झौता
मुख्यमन्त्रीको भ्रमणकै अवसरमा रसुवाको बाढी प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापनाका लागि कालिका गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका उपसभापति नीलकण्ठ आचार्यले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, जीविकोपार्जन पुनःस्थापना, नगद सहायता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य गरिनेछ।
कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता, जीविकोपार्जन पुनःस्थापनाका लागि सहयोग, अस्थायी आवास तथा घरभाडा सहायता उपलब्ध गराउने योजना छ। त्यस्तै, बाढीमा मृत्यु वा बेपत्ता भएका व्यक्तिका परिवारलाई निर्धारित मापदण्डअनुसार सहयोग गर्ने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।
स्थानीय आवश्यकतालाई प्राथमिकता दिँदै सहायता
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले विपद् प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन गरिने बताए।
उनका अनुसार कार्यक्रम सञ्चालन गर्दा पारदर्शिता, जवाफदेहिता, समावेशिता र स्थानीय समुदायको सहभागितालाई सुनिश्चित गरिनेछ।
नेपाल रेडक्रस, स्थानीय सरकार र प्रदेश सरकारबीचको समन्वय तथा सहकार्यले बाढी प्रभावित समुदायको पुनर्लाभ र पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विश्वाससमेत अध्यक्ष भण्डारीले व्यक्त गरे।
बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै दीर्घकालीन पुनःस्थापना र जीविकोपार्जनलाई सहयोग पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो।

















प्रतिक्रिया