काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले बालेन सरकारले पार्टी सभापति गगनकुमार थापालाई जोडेर १८ करोड रुपैयाँको सेटिङ भएको भ्रम फैलाएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै शिवाकोटीले रोशन खड्कामार्फत फैलाइएको भनिएको सामग्रीको स्रोत र उद्देश्यबारे प्रश्न गरेका हुन् । उनले खड्का यसअघि माओवादी, एमाले हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेको उल्लेख गर्दै उक्त सामग्री उनी आफैँले तयार पारेका हुन् वा उनका राजनीतिक नेतृत्वको निर्देशनमा फैलाइएको हो भन्ने प्रश्न उठाएका छन् ।
कांग्रेस सभापति थापाले प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारमाथि प्रश्न उठाएपछि सरकार निकटका व्यक्ति तथा सञ्चारमाध्यमबाट भ्रम फैलाइएको शिवाकोटीको दाबी छ । उनले यसलाई ‘फेक कन्टेन्ट’ र प्रोपागान्डाको संज्ञा दिएका छन्।
शिवाकोटीले सरकार र सत्तारुढ दल कांग्रेससँग डराएर कांग्रेसलाई कमजोर बनाउन कांग्रेसको आन्तरिक मामिलामा चलखेल गरेको आरोप पनि लगाएका छन्।
कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई शुरूमा रेड कर्नर नोटिस जारी गरेको सरकारले कांग्रेसलाई कमजोर बनाउन देउवालाई संरक्षण गर्दै गगनपक्ष विरुद्ध पटक पटक भूमिका खेलेको उनले दाबी गरेका छन् ।
अदालतमा वा प्रहरीसँग भएको बयान सार्वजनिक नै नभए पनि सार्वजनिक भएको भन्दै हल्ला फैलाउनुले सत्तापक्षको संलग्नता पुष्टि भएको सहमहामन्त्री शिवाकोटीको तर्क छ।

















प्रतिक्रिया