राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सेवा सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार भट्टराईविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको भन्दै २०५५ वैशाख ८ गते विभागमा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । तर, उक्त प्रमाणपत्र जारी गर्ने निकायबाट प्रमाणीकरण गराउँदा प्रमाणपत्रमा उल्लेख भएको उनको नाम र कुल प्राप्ताङ्क त्यहाँको अभिलेखसँग मेल नखाएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सोही प्रमाणपत्रका आधारमा भट्टराईले विभिन्न पदमा बढुवा पाउँदै आएका थिए । उनले २०५६ जेठ १० गते सहायक निरीक्षक, २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक र २०७१ माघ ५ गते अनुसन्धान अधिकृत पदमा बढुवा पाएका थिए ।

त्यसपछि २०७५ फागुन १३ गते उनी प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर पदोन्नति तथा सेवा सुविधा लिएको अख्तियारको आरोप छ ।

भट्टराईले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी ओहदा तथा लाभ लिएको भन्दै आयोगले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजायको मागदाबी गरेको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सोही कसुरमा भट्टराईविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।