छठ पर्वका लागि लगातार सार्वजनिक बिदा, सोमबार पनि कार्यालय बन्द


काठमाडौं । सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, छठ पर्वको धार्मिक विधि र परम्परालाई मध्यनजर गर्दै सरकारले पर्वको भोलिपल्ट पनि बिदा थप गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखेर सोमबार पनि सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

छठ पर्वमा व्रतालुहरूले पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा छ ।

विशेषगरी छठको अन्तिम दिन बिहानै नदी, पोखरी तथा जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक विधि पूरा गरिन्छ । यसका लागि व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि छठघाटमा भेला हुने गर्छन् ।

छठको मुख्य धार्मिक विधि दुई दिनसम्म चल्ने भएकाले व्रतालु, श्रद्धालु तथा सर्वसाधारणलाई पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले सरकारले थप बिदा दिएको हो ।

यो निर्णयसँगै कात्तिक २९ गते आइतबार र ३० गते सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । यस अवधिमा सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहनेछन् ।

छठ पर्व विशेषगरी तराई–मधेश क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने भए पनि पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा समेत भव्य रूपमा मनाउने प्रचलन बढ्दै गएको छ ।