काठमाडौँ । चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुर्याइएका नेपाली धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा स्वदेश फिर्ता ल्याउन काठमाडौँ महानगरपालिकाले संस्थागत अभियान सञ्चालन गर्ने भएको छ ।
महानगरले विदेशमा रहेका नेपाली सम्पदाको पहिचान, अभिलेखीकरण, प्रमाणीकरण र स्वदेश फिर्तीको प्रक्रियालाई व्यवस्थित बनाउन अभियान अघि बढाउन लागेको हो । यसका लागि जनचेतना अभिवृद्धि, प्राविधिक जनशक्ति उत्पादन तथा स्थानीय समुदायको क्षमता विकासलाई समेत प्राथमिकतामा राखिने भएको छ ।
शुक्रबार महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले चोरी भएका तथा विदेशमा पुर्याइएका नेपाली सम्पदालाई आफ्नै स्थानमा फर्काउने अभियानलाई संस्थागत र प्रभावकारी बनाउनुपर्ने बताइन् ।
उनका अनुसार महानगरले यसअघि पनि कूटनीतिक माध्यम, विदेशस्थित नेपाली समुदाय तथा विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ । अब यस्ता प्रयासलाई थप औपचारिक, व्यवस्थित र परिणाममुखी बनाइनेछ ।
एउटा तस्बिरले फर्काउन सकिन्छ चोरी भएको सम्पदा
डंगोलले चोरी भएका सम्पदाको पहिचान र फिर्तीका लागि अभिलेखीकरण सबैभन्दा महत्त्वपूर्ण हुने बताइन् ।
विदेशका विभिन्न सङ्ग्रहालयमा नेपाली सम्पदा भेटिए पनि ती कहाँबाट र कहिले चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको उनको भनाइ छ । त्यसैले सम्पदाको तस्बिर, भिडियो, ऐतिहासिक विवरण, मौलिक स्थान र पहिचान खुल्ने प्रमाण सुरक्षित राख्नुपर्ने उनले बताइन् ।
विगतमा एउटा तस्बिरकै आधारमा चोरी भएको महागौरीको मूर्ति पहिचान गरी स्वदेश फिर्ता ल्याउन र पुरानै स्थानमा पुनःस्थापना गर्न सफल भएको उदाहरण दिँदै उनले अभिलेखीकरणको महत्त्व स्पष्ट पारिन् ।
महानगरले आगामी दिनमा सम्पदाको विस्तृत विवरणसहित डिजिटल अभिलेख तयार गर्ने तथा हराएका सम्पदाको पहिचान गर्न आवश्यक प्रमाण सुरक्षित राख्ने कार्यलाई प्राथमिकता दिने जनाएको छ ।
सम्पदा हराउँदा प्रहरीमा उजुरी गर्न आग्रह
कार्यवाहक प्रमुख डंगोलले धार्मिक तथा सांस्कृतिक सम्पदा चोरी हुँदा प्रहरीमा औपचारिक उजुरी गर्ने अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने बताइन् ।
विगतमा मानिस हराउँदा प्रहरीमा उजुरी गर्ने प्रचलन भए पनि भगवान्का मूर्ति तथा धार्मिक सम्पदा हराउँदा औपचारिक जानकारी गराउने अभ्यास कम रहेको उनको भनाइ छ ।
तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीमा गरिएको उजुरीको प्रमाण मागिएको तर विगतमा उजुरी गर्नुपर्ने चेतना नहुँदा आवश्यक प्रमाण जुटाउन कठिन भएको उनले स्मरण गरिन् ।
यस्ता घटनाबाट पाठ सिक्दै अब कुनै पनि सम्पदा चोरी वा हराएमा तत्काल प्रहरीमा उजुरी गर्ने र त्यसको अभिलेख राख्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनले बताइन् ।
जनप्रतिनिधिदेखि स्थानीय समुदायसम्म तालिम
महानगरले सम्पदा संरक्षणसम्बन्धी अभियान आफ्नै जनप्रतिनिधि तथा कर्मचारीबाट सुरु गर्ने भएको छ । त्यसपछि नगर प्रहरी, फिल्डमा खटिने कर्मचारी, गुठी, सङ्घसंस्था, टोल सुधार समिति र स्थानीय समुदायसम्म अभियान विस्तार गरिने डंगोलले जानकारी दिइन् ।
उनका अनुसार सम्पदा संरक्षणमा सामान्य प्राविधिक ज्ञानको अभावले पनि ठूलो क्षति पुग्न सक्छ । त्यसैले सम्पदामा रङ लगाउने तरिका, चुनाको प्रयोग, चैत्यको संरचना तथा धार्मिक महत्त्वलगायत विषयमा कर्मचारीलाई तालिम दिइनेछ ।
सम्पदा संरक्षणका लागि आवश्यक प्राविधिक ज्ञान भएका विज्ञ तथा यस क्षेत्रमा काम गरिरहेका संस्थाको सहयोगसमेत लिइने महानगरको तयारी छ ।
यसका लागि सम्पदा संरक्षणमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको नमूना फाउन्डेसनसँगको सहकार्यलाई पनि महत्त्व दिइएको छ ।
सीसीटीभी मात्रै होइन, समुदायको निगरानी पनि आवश्यक
डंगोलले सम्पदा संरक्षणका लागि सीसीटीभी क्यामेरा जडान गरेर मात्रै नपुग्ने बताइन् । सम्पदा रहेका क्षेत्रका स्थानीय बासिन्दामा अपनत्व र जिम्मेवारीको भावना विकास हुनुपर्ने उनको जोड छ ।
स्थानीय समुदाय नै सचेत र सक्रिय भए सम्पदाको चोरी, अतिक्रमण तथा क्षति रोक्न सहज हुने उनको विश्वास छ ।
महानगरले गुठी, टोल सुधार समिति तथा स्थानीय सङ्घसंस्थालाई सहभागी गराएर समुदायको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
सम्पदा नगर प्रहरीको भूमिका विस्तार गरिने
महानगरले सम्पदाको सुरक्षा र निगरानीका लागि नगर प्रहरीको भूमिका पनि विस्तार गर्ने भएको छ ।
यसअघि कार्यान्वयनमा रहेको ‘सम्पदा नगर प्रहरी’ अवधारणालाई थप व्यापक बनाउँदै सम्पदाको संरक्षण, निगरानी तथा जोखिम न्यूनीकरणमा नगर प्रहरीलाई परिचालन गरिने डंगोलले बताइन् ।
उनका अनुसार अभियानलाई नीतिगत दस्तावेज र समझदारीपत्रमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गरिनेछ ।
चोरी भएका सम्पदाको पहिचान गर्ने, अवैध ओसारपसार रोक्ने, विदेशमा रहेका सम्पदा फिर्ता ल्याउने, मौलिक स्थानमा पुनःस्थापना गर्ने र दीर्घकालीन रूपमा सुरक्षित राख्ने कामलाई चरणबद्ध रूपमा अघि बढाइने महानगरको योजना छ ।
महानगरको यो पहलले काठमाडौँ उपत्यकाबाट चोरी भई विदेश पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको खोजी र स्वदेश फिर्तीका लागि संस्थागत आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया