काठमाडौँ । नेपाली उद्योगले भारतीय बजारमा उत्पादन निर्यात गर्दा भोग्दै आएको गुणस्तर प्रमाणीकरणको झन्झट र प्रक्रियागत कठिनाइ हटाउन नेपालले भारतसँग पहल अघि बढाएको छ । नेपालमै भारतीय मानक ब्युरो (बीआईएस) को मापदण्डअनुसारको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावमा भारत सकारात्मक देखिएको छ ।
भारतको विशाखापट्टनममा बिहीबार भएको नेपाल र भारतका उद्योगमन्त्रीबीचको द्विपक्षीय भेटवार्तामा नेपाली उत्पादनको निर्यात सहजीकरण, गुणस्तर प्रमाणीकरण, जुटजन्य उत्पादनमाथिको एन्टिडम्पिङ ड्युटी पुनरावलोकन तथा व्यापारिक अवरोध हटाउने विषयमा छलफल भएको हो ।
३१औँ साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी हुन भारत पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता भएको थियो ।
भेटमा मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा आफ्ना उत्पादन निर्यात गर्दा गुणस्तर परीक्षण तथा भारतीय मानक ब्युरोको प्रमाणपत्र प्राप्त गर्न भोग्दै आएका कठिनाइबारे भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए ।
विशेषगरी नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रिया सहज, सरल र समयबद्ध बनाउन उनले आग्रह गरेका थिए ।
नेपालमै बीआईएस मापदण्डको प्रयोगशाला बनाइने प्रस्ताव
नेपाली उत्पादनको गुणस्तर परीक्षणका लागि नेपालमै भारतीय मानक ब्युरोको मापदण्डअनुसारको प्रयोगशाला स्थापना गर्ने प्रस्तावमा भारतीय मन्त्री गोयलले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
मन्त्री गोयलले प्रयोगशाला स्थापनासम्बन्धी प्रक्रिया अघि बढाउन आफ्नो मन्त्रालयका सम्बन्धित सचिवलाई निर्देशनसमेत दिएका छन् ।
प्रस्तावित प्रयोगशाला स्थापना भए नेपाली उद्योगले उत्पादन भारत पठाउनुअघि नै नेपालमा गुणस्तर परीक्षण तथा प्रमाणीकरण गराउन सक्ने अपेक्षा गरिएको छ ।
यसबाट नेपाली उद्योगीले परीक्षणका लागि भारतसम्म नमुना पठाउनुपर्ने बाध्यता, अतिरिक्त खर्च र समयको बचत हुने विश्वास गरिएको छ । साथै, भारतीय बजारमा नेपाली उत्पादनको प्रवेश प्रक्रिया थप सहज बन्ने अपेक्षा छ ।
नेपाली जुटमाथिको एन्टिडम्पिङ ड्युटी पुनरावलोकन गर्न माग
भेटवार्तामा नेपाली जुटजन्य उत्पादनमाथि भारतले लगाउँदै आएको एन्टिडम्पिङ ड्युटी तथा प्रतिकारात्मक शुल्कको विषय पनि उठाइएको थियो ।
नेपालले उक्त शुल्क पुनरावलोकन गरी नेपाली जुट उद्योगलाई भारतीय बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण बनाउन आग्रह गरेको छ ।
भारतीय बजार नेपाली जुट उद्योगका लागि महत्त्वपूर्ण निर्यात गन्तव्य रहेकाले शुल्कका कारण सिर्जना भएको व्यापारिक अवरोध हटाउनुपर्ने नेपालको भनाइ छ ।
त्यस्तै, नेपाली चियाको भारतीय बजारमा सहज प्रवेश, कृषि उत्पादनको गुणस्तर परीक्षण तथा प्रमाणीकरण प्रक्रियालाई सरल बनाउने विषयमा पनि छलफल भएको थियो ।
धाम्रा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न नेपालको प्रस्ताव
नेपालले भारतका धाम्रा र मुन्द्रा बन्दरगाहलाई थप पारवहन सुविधाका रूपमा प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव पनि अघि सारेको छ ।
नेपाल–भारत व्यापार सन्धि पुनरावलोकन, काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्धा मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएको भारवहन प्रतिबन्ध तथा ढुवानी अवरोध हटाउने विषयमा समेत छलफल भएको छ ।
त्यसैगरी, कोलकाता बन्दरगाहमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले भाडामा लिएको जग्गा नवीकरण गर्ने वा त्यसको विकल्पमा अर्को जग्गा उपलब्ध गराउने विषय पनि नेपालले उठाएको थियो ।
नेपाली प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई भारतले मान्यता दिनुपर्ने
नेपालले आफ्ना मान्यताप्राप्त प्रयोगशालाबाट जारी हुने खाद्यवस्तुको गुणस्तर परीक्षण प्रतिवेदनलाई भारतीय निकायले मान्यता दिनुपर्ने प्रस्तावसमेत राखेको छ ।
सीमावर्ती क्षेत्रमा गुणस्तर परीक्षण सुविधाको विस्तार तथा दुई देशका सम्बन्धित निकायबीच प्राविधिक समन्वय बढाउनुपर्ने विषयमा पनि छलफल भएको थियो ।
मन्त्री साहले नेपाल र भारतबीचको व्यापार सम्बन्धलाई थप सुदृढ बनाउन आपसी विश्वास, समान व्यवहार, गुणस्तरीय उत्पादन र सरल व्यापार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
भारतीय मन्त्री गोयलले नेपालले उठाएका विषयमा सकारात्मक चासो देखाउँदै सम्बन्धित निकायबीच समन्वय र प्राविधिक छलफलमार्फत समाधान खोज्नुपर्ने बताएका छन् ।
मन्त्री साहको सचिवालयका अनुसार भेटवार्तामा उठाइएका विषयलाई कार्यान्वयनमा लैजान दुवै देशका सम्बन्धित निकायबीच थप छलफल तथा समन्वय गरिनेछ ।
नेपाल र भारतबीचको व्यापारमा नेपाली उत्पादनले भोग्दै आएका प्रमाणीकरण तथा पारवहनसम्बन्धी समस्या समाधान हुन सके नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया