आइटियु सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक रह्यो : सञ्चारमन्त्री


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताएका छन् । उनले डिजिटल विभाजन न्यूनीकरण, सूचना प्रविधिको पहुँच विस्तार र अन्तर्राष्ट्रिय साझेदारी प्रवर्द्धनका विषयमा नेपालले आफ्नो धारणा सशक्त रूपमा प्रस्तुत गरेको जानकारी दिएका छन् ।

कतारको दोहामा आयोजित आइटियु महासम्मेलन (आइटियु पिपी–२६) मा सहभागी भएर स्वदेश फर्किएका मन्त्री तिमिल्सिनाले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

उनका अनुसार सम्मेलनमा उदीयमान प्रविधिको उपयोगमार्फत विकासशील तथा अल्पविकसित मुलुकमा विद्यमान डिजिटल विभाजन कम गर्ने र सूचना प्रविधिको पहुँच सबै नागरिकसम्म विस्तार गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।

मन्त्री तिमिल्सिनाले सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति गरेका मुलुकहरूसँग नेपालको डिजिटल रूपान्तरणका लागि सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको बताए ।

उनले भने, “सूचना प्रविधिको पहुँच विस्तार हुनुपर्नेमा विभिन्न कारणले कतिपय अवस्थामा खुम्चिँदै गएको पनि पाइएको छ । यसको पहुँच कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा द्विपक्षीय छलफल भयो ।”

६ देशसँग द्विपक्षीय भेटवार्ता

महासम्मेलनका क्रममा मन्त्री तिमिल्सिनाले मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसलगायत मुलुकका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

भेटवार्तामा नेपालको आवश्यकता र प्राथमिकताअनुसार सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा सहकार्य र साझेदारीका सम्भावनाबारे छलफल भएको उनले जानकारी दिए ।

विशेषगरी डिजिटल रूपान्तरण, प्रविधि हस्तान्तरण, प्राविधिक सहायता तथा दूरसञ्चार पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने विषयमा छलफल केन्द्रित रहेको उनको भनाइ छ ।

विपद्का बेला सञ्चार प्रणाली निर्बाध सञ्चालन गर्ने विषय उठाइयो

सम्मेलनमा बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्का समयमा सञ्चार प्रणालीलाई कसरी निरन्तर सञ्चालन गर्न सकिन्छ भन्ने विषयले समेत प्राथमिकता पाएको मन्त्री तिमिल्सिनाले बताए ।

नेपालजस्तो प्राकृतिक विपद्को जोखिममा रहेको मुलुकका लागि विपद्का बेला सञ्चार सेवा अवरुद्ध नहुने व्यवस्था अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले यस विषयमा नेपालको तर्फबाट नीतिगत धारणा प्रस्तुत गरेका थिए ।

विपद्का समयमा सूचना प्रवाह, उद्धार तथा राहत व्यवस्थापन र नागरिकको सुरक्षाका लागि भरपर्दो सञ्चार प्रणाली आवश्यक हुने उनको भनाइ थियो ।

एआई र फाइभजीमा डिजिटल विभाजनको जोखिम

मन्त्री तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई), फाइभजी तथा अन्य उदीयमान प्रविधिको विकाससँगै डिजिटल विभाजनको स्वरूप पनि परिवर्तन हुँदै गएको बताए ।

विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी र प्रविधिमा असमान पहुँचका कारण विकासशील मुलुक थप पछाडि पर्ने जोखिम रहेको उनले औँल्याए ।

डिजिटल पहुँचमा रहेको असमानतासँगै एआई र फाइभजीजस्ता प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको उनको भनाइ थियो ।

उनले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।

डिजिटल रूपान्तरणमा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य

मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणको लाभ सबै देश, समुदाय र नागरिकसम्म समान रूपमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

विकसित मुलुकसँग प्रविधि र स्रोतसाधनमा सहकार्य विस्तार गर्दै विकासशील मुलुकको क्षमता अभिवृद्धि गर्नुपर्ने उनको जोड थियो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघले विश्वव्यापी रूपमा दूरसञ्चार क्षेत्रको नीति निर्माण, नियमनसम्बन्धी मापदण्ड विकास तथा सदस्य राष्ट्रबीच समन्वय गर्दै आएको छ । संस्थामा हाल १९४ राष्ट्र सदस्य छन् ।

नेपालको सहभागिताले डिजिटल रूपान्तरण, दूरसञ्चार पूर्वाधार विकास तथा प्रविधिमा अन्तर्राष्ट्रिय साझेदारी विस्तारका लागि थप अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।