लिस्बन (पोर्चुगल) । पोर्चुगलस्थित नेपाली राजदूतावास, लिस्बनले आफ्नो आधिकारिक सूचना पत्रमा विक्रम संवत् र इस्वी संवत्सँगै नेपालको मौलिक राष्ट्रिय संवत् ‘नेपाल संवत्’ समेत उल्लेख गर्न थालेको छ। दूतावासको यो कदमलाई नेपाली मौलिक इतिहास, संस्कृति र राष्ट्रिय पहिचानको सम्मानका रूपमा लिँदै सरोकारवालाहरूले स्वागत गरेका छन्।
राजदूतावासले मिति २०८३ कात्तिक २७ गते (नोभेम्बर १३, २०२६) जारी गरेको आधिकारिक सूचना पत्रमा ‘ने.सं. ११४७ कछलाथ्व चतुर्थी’ उल्लेख गरेको छ। यससँगै विदेशस्थित नेपाली कूटनीतिक नियोगको आधिकारिक सूचनामा नेपाल संवत्ले समेत स्थान पाएको छ।
नेपाल संवत् नेपालको ऐतिहासिक, सांस्कृतिक तथा मौलिक पहिचानसँग जोडिएको महत्वपूर्ण संवत् हो। यसको संरक्षण, प्रवर्द्धन र सरकारी कामकाजमा प्रयोग विस्तार गर्नुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ।
यसअघि आयोजित एक कार्यक्रममा नेपाल संवत्का अभियन्ता गंगाबहादुर नेम्कुलले नेपाल संवत् र विक्रम संवत्को ऐतिहासिक पृष्ठभूमि, महत्व तथा नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको नेपाल संवत्को गौरवपूर्ण इतिहासबारे प्रकाश पारेका थिए।
कार्यक्रममा नेम्कुलले नेपाल संवत्लाई केवल पात्रो वा मिति गणना गर्ने माध्यमका रूपमा मात्र नभई नेपालको मौलिक इतिहास, सभ्यता र सांस्कृतिक सम्पदाका रूपमा लिनुपर्ने धारणा राखेका थिए। उनले नेपाल संवत्को सम्मान र प्रवर्द्धनका लागि विदेशस्थित नेपाली दूतावासहरूको आधिकारिक पत्राचार, सूचना तथा प्रशासनिक कामकाजमा समेत यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने माग गरेका थिए।
सोही क्रममा उनले नेपालको शैक्षिक पाठ्यक्रममा नेपाल संवत्को ऐतिहासिक पृष्ठभूमि, महत्व र प्रयोगसम्बन्धी विषय समावेश गर्नुपर्ने मागसहितको अनुरोधपत्र कार्यक्रमका प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेलसमक्ष हस्तान्तरण गरेका थिए।
आफूले उठाएको मागलाई सम्बोधन गर्दै दूतावासले आधिकारिक सूचना पत्रमै नेपाल संवत् उल्लेख गर्न थालेपछि अभियन्ता नेम्कुलले नेपाली राजदूतावास, लिस्बनप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
उनका अनुसार नेपाल संवत्लाई सरकारी तथा कूटनीतिक कामकाजमा प्रयोग गर्नु भनेको नेपालको मौलिक इतिहास, सभ्यता र सांस्कृतिक पहिचानलाई सम्मान गर्नु हो। यस्तो अभ्यासले नयाँ पुस्तालाई आफ्नो इतिहास र मौलिक संवत्बारे जानकारी लिनसमेत प्रेरित गर्ने अपेक्षा गरिएको छ।
सरोकारवालाहरूले दूतावासको यो पहललाई सकारात्मक र प्रशंसनीय सुरुवातका रूपमा लिएका छन्। उनीहरूका अनुसार नेपाल संवत्को प्रयोग सरकारी कार्यालय, स्थानीय तह, शैक्षिक संस्था तथा विदेशस्थित नेपाली नियोगहरूमा समेत विस्तार गर्न सके नेपालको मौलिक सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्नेछ।
नेपाल संवत्को प्रयोगलाई औपचारिक तथा संस्थागत रूपमा विस्तार गर्न सके यसले नेपालको ऐतिहासिक सम्पदा संरक्षण, सांस्कृतिक चेतना अभिवृद्धि र राष्ट्रिय पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
पोर्चुगलस्थित नेपाली राजदूतावासको यो पहल एउटा सूचनामा संवत् थपिएको विषयमा मात्र सीमित नरही नेपालको मौलिक इतिहास र सांस्कृतिक गौरवलाई आधिकारिक अभिलेखमा स्थापित गर्ने सकारात्मक अभ्यासका रूपमा हेरिएको छ।


















प्रतिक्रिया