Logo

कैद माफी : जेलबाट फूलमालासहित निस्किए बालकृष्ण ढुंगेल

काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल अन्नतः रिहा भएका छन् । कर्तव्य ज्यान मुद्दामा डिल्लीबजारस्थित सदरखोर जेलमा रहेका ढुंगेल अाज (मंगलबार) बिहान फूलमालासहित निस्किएका हुन् ।

एघाराैँ गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले ८१६ जनाकाे बाँकी कैद भुक्तान मिनाहा गरी माफी दिएपछि साेही सुचीका अाधारमा ढुंगेल पनि छुटेका हुन् । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजारस्थित कारागार पुगेर फुलमालाले सम्मान गरेका थिए । समर्थकलार्इ ढुंगेलले केहीबेर सम्बोधन समेत गरेका थिए । उनले गणतन्त्र ल्याउन अाफू लडेर याेगदान दिएकाे बताए ।

ढुंगेलकाे पछिल्लाे आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले कैद मिनाहाक‍ा लागि सिफारिस गरेकाे थियाे, साे सिफारिस अाइतबारकाे मन्त्रिपरिषद् बैठकले पारित गरी राष्ट्रपतिकहाँ पठाएकाे थियाे । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनकाे कैद मिनाहा पनि स्वीकृत गरेकी हुन् ।

सरकारले माफी दिए पनि ढुंगेललाई माफी नदिन माग गर्दै परेकाे रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ । अदालतले सोमबार मात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति झिकाएकाे थियाे र थप सुनुवाइ अाज हुने बताइएकाे थियाे ।

अाेखलढुंगाका उज्जन श्रेष्ठकाे ०५५ मा भएकाे हत्या अभियाेगमा ढुंगेललाई ०६६ मा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। उनी द्वन्द्वकालीन समयमै साढे सात वर्ष जेल बसेका थिए।

यसअघि पनि तत्कालीन डा.बाबुराम भट्टराई सरकारले पनि उनलाई आममाफीका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरियाे । त्यसबेला पनि ढुंगेलकाे आममाफीविरुद्ध  सर्वोच्चमा रिट परेको थियो । सो रिटमा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते माफी मिनाह नगर्न अादेश दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्