Logo

६ लेन सडकमा आकासेपुल बनाउने ठेकेदार कता हराए ?

बुटवल । वेलहिया– बुटवल छ लेन सडकमा बनाउन लागिएको आकाशे पूलको निर्माणले गतिलिन सकेको छैन । निर्माणको कामले गति नलिएकाले तोकिएको समयमा पूल निर्माण नहुने पक्कापक्की भएको छ । बढ्दो सहरीकरणसंगै जनघनत्व बढेपपिछ बुटवलदेखि भैरहवासम्म १० वटा आकाशे पूल निर्माणको कार्य शुरु भएको थियो ।

२०७५ असार मसान्तसम्म सम्पन्न गर्नेगरी २०७३ चैत्रमा पूल निर्माणको काम शुरु भएको थियो । पूल निर्माणका लागि बेलहिया– बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनासंग सम्झौता गरेर ठेक्का लिएको महादेव खिम्ती एशीयाटिक महेश जेवीले काममा ढिलाई गरेको छ । असार मसान्त आउन केही दिन बांकी रहंदा अहिलेसम्म फाउण्डेशन जगको काम मात्र सम्पन्न गरेर पिल्लर उठाईएको छ । बेलहिया बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले तोकिएको समयमा आकाशे पूलहरु निर्माण सम्पन्न हुन नसक्ने बताएका छन् । उनले अहिलेसम्म ३० प्रतिशत मात्र काम भएको बताए ।

पहिलो पटक बनाउन लागिएको आकाशे पूलका लागि अनुभवको कमी र तौरतरीकामा पनि कमी भएकाले सोचेजस्तो गरी निर्माणको काम हुन नसकेको इन्जिनियर श्रेष्ठले स्वकीकार गरेका छन् । आगमी २०७५ असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी काम थालिएपनि समयमा सम्पन्न हुन नसक्ने र आगमी मंसिरसम्म सम्पन्न हुन सक्ने बताए । वेलहिया– बुटवल सडकको २६ किलो मिटरको दुरीको ट्राफिकचोक, अस्पताललाईन, मिलनचोक, चौराहा, कालिका स्कुल अगाडी, योगकिटी, ड्राइभरटोल, भैरहवाको बर्मेलीटोल, आंखा अस्पताल अगाडी र देवकोटा चोकमा आकाशे पूल बनाउन थालिएको छ ।

उक्त १० वटा आकाशे पूलका लागि ११ करोड ५५ लाख वजेट छुट्टाईएको छ । १५ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भए अनुसार निर्माण कम्पनीलाई ४ करोड भुक्तानी गरिएको । वेलहिया– बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्