मोबाइलमा ‘हाई अलर्ट’ सूचना पठाउने प्रणालीको परीक्षण सफल, अब पोखरामा एनसेलमार्फत परीक्षण गरिने


काठमाडौं । विपद्का बेला नागरिकलाई तत्काल पूर्वसूचना पुर्‍याउने उद्देश्यले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ (CBS) को पहिलो चरणको प्राविधिक परीक्षण सफल भएको छ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझ ६ बजे नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा गृहमन्त्री सुदन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा परीक्षण गरिएको हो।

नेपालकै प्राविधिक जनशक्तिले विकास गरेको यस प्रणालीबाट इन्टरनेटबिना नै निश्चित क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ।

पहिलो चरणको परीक्षण सफल भएपछि अब पोखरामा एनसेलको नेटवर्कमार्फत परीक्षण गरिने मन्त्रालयले जनाएको छ। त्यसपछि देशभर परीक्षण विस्तार गरी राष्ट्रिय स्तरमा प्रणाली सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

यस प्रणालीबाट बाढी, पहिरो, भूकम्पलगायत विपद्का बेला जोखिममा रहेका नागरिकलाई तत्काल चेतावनी र आवश्यक सूचना पठाउन सकिनेछ।